एजेन्सी– सूचना प्रविधिको क्षेत्रमा चीनले आफूलाई पुनः विश्वकै अग्रणी साबित गर्दै विश्वकै पहिलो सिक्सजी चिप बनाउन सफल भएको छ । यसले दुर्गम क्षेत्रमा उच्चगतिको इन्टरनेट प्रदान गर्ने बताइएको छ ।
चिनियाँ वैज्ञानिकले पातलो लिथियम नियोबेट फोटोनिक पदार्थको झिल्ली र नवीन संरचनाको प्रयोग गरी उच्चगतिको वायरलेस सञ्चार चीपको विकास गरेका हुन् ।
समाचार अनुसार विद्यमान इन्टरनेट गतिको तुलनामा सिक्स जी चिपबाट ५ हजार गुणा तेज इन्टरनेट स्पीड प्राप्त हुनेछ । यसबाट विश्वका ग्रामीण क्षेत्रलाई समेत फाइदा पुग्नेछ, जहाँ अहिलेसम्म उच्चगतिको इन्टरनेट पुग्न सकेको छैन ।
यो चिपले भविष्यको सिक्स जी इन्टरनेटको विश्वसनीयता तथा क्षमतामा वृद्धि गर्नेछ । साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ शोधकर्ताहरुले बेइजिङस्थित पेकिंग विश्वविद्यालय र हङ्कङको सिटी विश्वविद्यालयका शोधकर्ताहरुसँग मिलेर तयार पारेका हुन् ।
नेचर जर्नलमा प्रकाशित उक्त शोध अनुसार यसलाई सबै फ्रिक्वेन्सीमा चल्ने सिक्स जी प्रविधि भनिएको छ जसले मोबाइल स्पीडलाई कैयौँ गुणा बढाउनेछ। यो इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित रहेको बताइएको छ ।
चीनमा जुन सिक्स जी चिपसेट तयार गरिएको छ, त्यसको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर रहेको छ । यो चिपसेटले न्यून फ्रिक्वेन्सीमा पनि काम गर्न सक्दछ । यसबाट मोबाइल तथा अन्य डिभाइसमा उत्कृष्ट इन्टरनेट स्पीडयुक्त राम्रो कनेक्टिभिटी प्राप्त हुनेछ ।