कुवेतमा विषाक्त मदिरा सेवनले तीन दिनमा ९ नेपालीको मृत्यु

काठमाण्डु टुडे २०८२ साउन ३० गते १३:११ मा प्रकाशित

काठमाण्डू, ३० साउन– पछिल्लो तीन दिनयता कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीको मृत्यु भएको छ । अझै केही उपचारकै क्रममा छन् ।

केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले दिएको जानकारी अनुसार, मृत्यु हुनेहरूको विवरण संकलन गर्न कार्य जारी छ । मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिने उनले जानकारी दिएका छन ।

उनले भने, ‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । मेडिकल रिपोर्ट नआउँदासम्म विषाक्त मदिरा वा अन्य के कारण भन्न सकिने अवस्था छैन ।’ कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ ।

नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ । १ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ । कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ ।

तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us