काठमाण्डू, ५ साउन– धनुषाको एक विद्यालयको कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत अवस्थामा भेटिएकी छन । धनुषको मिथिला नगरपालिका–८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत फेला परेकी प्रहरीले जनाएको छ ।
मृतक मिथिला नगरपालिका–८ जमुनिबासकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर भएको खुलेको छ । परिवारजनका अनुसार शिक्षिका मगरले सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएकी थिइन् ।
गत साउन १ गते बिहान करिब ४स्४५ बजे जमुनिबासमा विद्यालय कक्षा कोठामा मृत फेला परेपछि घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मृतक मगरले ऋण लिएकी थिइन् ।
घटनास्थल नजिकै रहेको मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको जनाएको छ । घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिटरब्याजी यादव समेत जोडिएको देखिएकाले उनलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले अनलाइनखबरलाई जानकारी दिएका छन ।
उनका अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यादवले पटक पटक मानसिक यातना, धाक धम्की र बेज्जती गर्ने चेतावनी दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए ।