पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले भनेः पार्टी विभाजनको दिशा तर्फ अधि बढ्यो

काठमाण्डु टुडे २०८२ साउन ५ गते १४:२४ मा प्रकाशित

काठमाण्डू, ५ साउन– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । आज (सोमबार)बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले पार्टी बाहिर र भित्र विभिन्न तत्वहरू विभाजित गर्नेगरी लागेको भन्दै त्यसबाट जोगिन आग्रह गरे ।

‘हामी नितान्त पार्टीको आन्तरिक छलफलसँग जोडिएर छलफल गर्छौं । हामी पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर पार्टीलाई अघि बढाउनेगरी लाग्नुपर्नेछ,’ उनले भने, ‘पार्टीका बाहिर र भित्रि तत्वलाई चलाएर विभाजित गर्ने तत्वहरू आए । त्यो अहिले पनि हुनसक्छ । त्यसलाई जोगाएर अघि बढ्नुपर्छ ।’ साथै, उनले अहिले पार्टी रुपान्तरणको बेला भएको र सानातिना अन्तरविरोधमा नफस्न पनि आग्रह गरे ।

‘यो पार्टी रुपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तरविरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष ओलीको भेटवार्ताका क्रममा धेरै कुरा खुला र स्पष्ट ढंगबाट भएको पनि जानकारी गराए ।

‘नेपालको राष्ट्रिय राजनीतिक कसरी अघि बढेको छ, नेकपा एमाले कसरी निशाना बनिरहेको छ, नेकपा एमालेलाई विभाजित गर्ने तत्व कसरी सलबलाइरहेका छन् । त्यसपछि विधान अधिवेशनको तयारीका बारेमा खुला छलफल गर्नुभएको छ ।

हाम्रा बीचमा कुनै मतभेद छैन भन्नुभएको छ,’ गौतमले जानकारी गराए । केन्द्रीय कमिटीका सदस्यहरूलाई ओलीले विधान संशोधनसम्बन्धी मुद्दामा पनि आ–आफ्ना धारणा राख्न भनेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us