काठमाण्डू, ४ साउन– एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षको सदस्यता नवीकरण गरिसकेको खुलासा गरेका छन ।
आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच छलफल चलिरहँदा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । हिजो मात्रै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरणको विषय पेन्डिङमा रहेको जानकारी गराएका थिए ।
तर, हिजो र अस्ति दुई दिन बसेको बैठकमा सदस्यताबारे कुनै निर्णय नभएको बताउँदै अघिल्लो वर्षको सदस्यता नवीकरण एक वर्ष अघि नै भएको र यो वर्षको पनि नवीकरण भइसकेको उनले दाबी गरे ।
‘नवीकरण एक वर्षअघि नै गर्नुभएको हो । अघिल्लो वर्षको एक वर्षअघि नै गर्नुभएको हो र यो वर्षको पनि भइसकेको छ,’ थापाले सञ्चारकर्मीसँग भने । उनले शुक्रबार र शनिबार बसेको पार्टी बैठकमा सदस्यताबारे निर्णय नभएको पनि जानकारी गराए ।
उनले भने, ‘कसले के भन्नुभयो थाहा छैन । तर, हिजो कुनै निर्णय भएको होइन । पेन्डिङमा होइन । हिजो त्यस्तो निर्णय भएको होइन ।’