काठमाण्डू, ४ साउन– एमाले सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच जारी भेटवार्ता महत्त्वपूर्ण रहेको बताएका छन । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा ओली–भण्डारीबीच भेटवार्ता चलिरहँदा सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन । एमाले सचिव भट्टराईले भने, ‘यो भेटघाट नेकपा एमालेका लागि महत्त्वपूर्ण छ ।
हाम्रो पार्टीभित्र उत्पन्न विषय कसरी हल गर्ने भन्ने मोडल पनि यसबाट निस्कनुपर्छ ।’ पार्टी बैठकमा नेताहरूले राखेको सुझाव अनुसार नै आज भेटवार्ता भएको भट्टराईले जानकारी दिए । उनले भने, ‘पार्टीभित्र चलिरहेको एउटा बहस छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने र भूमिका खेल्ने भन्ने विषय सार्वजनिक रुपमा उहाँले राख्नुभएको छ ।
अधिकांश नेताहरूले पार्टी अध्यक्षसँग कुराकानी हुनुपर्छ, ‘यो विषय आफ्ना आफ्ना कोणबाट अभिव्यक्ति दिने भन्दा पनि छलफल गरेर उपयुक्त कुराको निकास निकाल्नुपर्छ भनेर सबैले सुझाव दिनुभएको छ । सोही अनुसार भेटवार्ता भएको हो ।’ भट्टराईले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय भने प्राविधिक रहेको जिकिर गरे ।
उनले भने, ‘सदस्यताको विषय प्राविधिक कुरा हो । प्राविधिक कुरा टुंगिनु अघि राजनीतिक कुरा त्यसअघि टुंग्याउनुपर्छ,’ उनले भने, ‘प्राविधिक कुरामा धेरै बहस गर्नु आवश्यक छैन । मुख्य कुरा भनेको राजनीतिक कुरा हो । त्यो टुंगिएपछि यो त भइहाल्छ ।’