भण्डारीले अनुरोध अस्वीकार गरेपछि च्यासलमा भेट्न तयार भएका थिए ओली !

काठमाण्डु टुडे २०८२ साउन ४ गते १६:४१ मा प्रकाशित

काठमाण्डू, ४ साउन– एमालेको मुख्यालय च्यासलमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच भेटर्वाता भएको छ । आज (आइतबार) एमालेको मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।

दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो । भण्डारीले गत १४ असारमा एमाले राजनीतिमा पुनस् सक्रिय हुने घोषणा गरेयता एमालेभित्र पक्ष र विपक्षमा मतहरू देखिन थालेका छन् ।

आगामी भदौमा विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले पछिल्ला केही दिन लगातार पार्टी बैठक चलाइरहेको छ । सचिवालय, पोलिटब्युरो लगायतका बैठकमा औपचारिक रुपमा भण्डारीको राजनीतिक संलग्नताको इच्छाबारे छलफल थालिएको छ ।

यसैबीच, आइतबार ओली र भण्डारीबीच भेटवार्ता भएको हो । यसलाई पार्टी पंक्तिामा चासोको साथ हेरिएको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आइतबार बिहान सम्पर्क गरेर भण्डारीलाई बालुवाटार आउन आग्रह गरेका थिए ।

तर, ओलीको उक्त अनुरोध भण्डारीले अस्वीकार गरेको भण्डारी निकट स्रोतले जानकारी दिएको छ । भण्डारी निकट स्रोतले भन्यो, ‘उहाँ (ओली) ले बालुवाटारमै आउनुस् भनेर बोलाउनुभएको थियो, ‘तर, यो बैठक च्यासलमा गरौं, म बालुवाटार आउँदिन भनेर पूर्वराष्ट्रपतिले भन्नुभयो ।’ भण्डारीले अनुरोध अस्वीकार गरेपछि ओली च्यासलमै भेट्न तयार भएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us