काठमाण्डू, ४ साउन– नोबेल मेडिकल कलेजका चिकित्सकले १५ वर्षीय बालकको पेटबाट कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकाल्न सफल भएका हुन ।
१७ असारमा भर्ना भएका बालकको ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरी पेटभित्र अड्किएको कैंची निकालिएको नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईले जानकारी दिए । शल्यक्रिया पछि बालक घर फर्किएको पनि उनले जानकारी दिए । घरमा टीभी हेर्ने क्रममा बालकले खेलाइरहेको कैंची अड्किएपछि आफन्तले स्थानीय अस्पताल हुँदै नोबेल पुर्याएका थिए ।
गम्भीर अवस्थामा भर्ना भएका उनको ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई र डा। दिनेश अधिकारीको टिमले शल्यक्रिया गरी कैंची निकालेको थियो । अस्पतालका अनुसार, खेल्ने क्रममा घाटीमा अड्किएको कैची घरमा निकाल्न खोज्दा सानो आन्द्रासम्म पुगेको थियो । ढल्किएर टीभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो ।
बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो । स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आफन्तले नोबेल लगेका थिए । नोबेल आइपुग्दा भने पेटमा कैंची पुगिसकेको थियो । गम्भीर अवस्थामा आएका बालकको तत्कालै शल्यक्रिया गरी कैंची निकालेको अस्पतालले जानकारी दिएको छ ।