काठमाण्डू, ४ साउन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल कुनै न कुनै रूपमा सरकारसँग जोडिनुपर्ने भएकोले सरकारबाट टाढा राख्न नसकिने तर्क गरेका छन । आज (आइतबार) प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले मिडिया काउन्सिल सरकारबाट पूर्ण रूपमा अलग भएर बस्न सम्भव नहुने पनि बताएका छन ।
सञ्चारमन्त्री गुरुङले भने, ‘मिडिया काउन्सिको बारेमा स्वतन्त्र र स्वायत्त हुनुपर्यो भन्ने कुराहरू उठिरहेको छ । यो स्वतन्त्र र स्वायत्त नै हो । सञ्चार क्षेत्रलाई मर्यादित बनाउने कुरा पनि छँदैछ‘ उनले भने, ‘तर, स्वतन्त्रको नाममा सरकारबाट पूरै अलग भएर बस्ने कुरा पनि होइन ।‘ उनले थपे, ‘सञ्चार क्षेत्रले कहीँ न कहीँ सरकारसँग जोडिनैपर्छ ।
सरकारको हस्तक्षेप र नियन्त्रण हुनसक्ने भन्दै हामीले स्वतन्त्र संयन्त्रको विकास गर्न खोजेको हो ।‘ गुरुङले सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा आवश्यक भएकाले त्यसका लागि स्वतन्त्र संयन्त्रको विकास गर्न ऐन निर्माण लागिएको बताए । ‘मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र जिम्मेवार भएर कसरी काम गर्ने भन्ने कुरालाई महत्वपूर्ण ढंगले हेर्नुपर्छ । तर सरकारसँग केही न केही जोडिएको चाहिँ हुनुपर्छ,’ उनले भने ।
मन्त्री गुरुङले सामाजिक सञ्चालको माध्यमबाट हुने साइबर अपराधको अवस्था गम्भीर भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् ।
‘साइबर बुलिङ या साइबर क्राइम जे जे भइरहेको छ, जेठ मसान्तसम्म साइबर क्राइम सम्बन्धी १९ हजार ७३० वटा उजुरी परेको छ । अहिले सामाजिक सञ्जालबाट ठगियौं भनेर निवेदन दिनेहरूको संख्या नै त्यति धेरै छ,’ उनले भने ।