विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार १० गते १३:२२ मा प्रकाशित

काठमाण्डू, १० असार– नोबेल शिक्षण अस्पतालमा विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिएका छन ।

मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल प्रबन्धक राईले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको उनले जानकारी दिए ।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा कोरोना संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिएका छन ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us