
काठमाण्डू, ८ असार– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको शासकीय सुधार आयोगको औचित्यमाथि सत्ता घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रश्न उठाएका छन् ।
साथै कांग्रेस सांसद केसीले उक्त आयोगलाई ‘कहीँ नभएको जात्रा’को संज्ञा दिएका छन् । आज (आइतबार) बसेको प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद केसीले उक्त आयोगको औतित्यमाथि प्रश्न गरेका हुन ।
सांसद केसीले सुशासन दिनुपर्ने प्रधानमन्त्री र मन्त्रीहरू रहेको सुशासन आयोग गठन गरेकोमा आपत्ति समेत व्यक्त गरेका छन । सांसद केसीले भने, ‘प्रधानमन्त्री र मन्त्रिपरिषद् सुशासनको केन्द्रबिन्दु हो । त्यो केन्द्रबिन्दुमा प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोगको किन जरुरी ?’ उनले साँच्चै सुशासन चाहिएको भए देशका सुशासनका विज्ञ हुनुपर्ने बताए ।
‘मन्त्री र प्रधानमन्त्री त सुशासन दिने संस्था हो । उसैले त्यो आयोगमा बसेर के गर्न खोजेको हो, मैले बुझेको छैन । यो आँखामा छारो हाल्ने काम मात्रै भएको छ,’ सांसद केसीको भनाइ छ । आयोगले केही पनि काम गर्न नसक्ने केसीको दाबी छ ।
‘मेरै पार्टीको प्रधानमन्त्री होस् या मेरो गठबन्धनको प्रधानमन्त्री होस् जे सत्य छ त्यो सत्यलाई भन्दा नै त्यो संस्थाको संस्थागत विकासका प्रक्रिया अगाडि बढ्न सक्दछन्’, उनले भने, ‘प्रधानमन्त्रीको अध्यक्षतामा सुशासन आयोग कहीँ नभएको जात्रा भएको मलाई आभास भइरहेको छ ।’