
सप्तरी, ८ असार– सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज (आइतबार) दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नपा–११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र कञ्चनरूप नपा–१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियार रहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जानकारी दिएको छ ।
कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । त्यस्तै को १० प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुभास महतो घाइते भएका छन् ।
उनी उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।