सभामुखद्वारा रास्वपाका कार्यवाहक सभापति र राप्रपा अध्यक्षसँग छुट्टाछुट्टै छलफल

काठमाण्डु टुडे २०८२ असार १ गते १२:२८ मा प्रकाशित

काठमाण्डू, १ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुटाछुटै छलफल गरेका छन ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरेको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ । सभामुखले सदनलाई मर्यादित बनाउन समेत ध्यानाकर्षण गराए ।

रास्वपा कार्यवाहक अध्यक्ष अर्यालले आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका थिए । गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिवधि भएकोबारे बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले अध्यक्ष लिङ्देनलाई पनि संवैधानिक बाध्यता बुझिदिन आग्रह गर्दै संसदको अवरोध हटाउन आग्रह गरे । अध्यक्ष लिङ्देनसँग टेलिफोन गर्दै सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुरू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us