
काठमाण्डू, १३ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले १५ जेठको पार्टीको कार्यक्रमलाई प्रधानमन्त्रीले भड्काउन खोजेको आरोप लगाएका छन् ।
आज (मंगलबार) काठमाण्डूमा सम्पादकहरूसँगको छलफलमा राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् ।
गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो ।’ संविधानले दिएको स्वतन्त्रता सरकारले कुण्ठित गर्न खोजेको उनको आरोप समेत लगाएका छन ।
उनले भने, ‘हामीले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेका छन् । पत्रकारहरूले यसमा निष्पक्ष भएर समाचार सम्प्रेषण गरिदिनु पर्यो ।’
राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डू एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।