सरकारको रबैयाका कारण १५ जेठको कार्यक्रम पनि १५ चैतकै जस्तो होला कि भन्ने डर भयोः नवराज सुवेदी

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १५:१३ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– राजसंस्था पुनर्स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा आलीले आगामी जेठ १५ मा एमालेले काठमाण्डू कब्जा गर्नु पर्छ भनेर दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन ।

साथै संयोजक सुवेदीले सरकारको रबैयाका कारण १५ जेठको कार्यक्रम पनि १५ चैतकै जस्तो होला कि भन्ने डर रहेको पनि बताएका छन् । आज मंगलबार काठमाण्डूमा सम्पादकहरूसँगको छलफलमा सुवेदीले यस्तो बताएका हुन् । उनले भने, ‘हामी निर्णायक आन्दोलनमा छौं । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ ।

तर, सरकारको रबैया १५ चैतकै जस्तो होला कि भन्ने डर छ ।’ प्रधानमन्त्री ओलीले आइतबारको एक कार्यक्रममा १५ जेठमा ११ बजेदेखि २ बजेसम्म काठमाण्डू एमालेको नियन्त्रणमा हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिप्रति सुवेदीले आपत्ति जनाएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ । त्यसैले तपाईं पत्रकारहरू साक्षी बसिदिनुस् भनेर गुहार माग्न आएका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us