मानव तस्करी प्रकरणः सभामुखले बलेको आगोमा घ्यू थपेपछि…

काठमाण्डु टुडे २०८२ जेठ १३ गते १२:१६ मा प्रकाशित

काठमाण्डू, १३ जेठ– पर्यटक भिसाको आवरणमा नाममा विदेश जाने नेपालीबाट दैनिक कम्तिमा ५० लाख असुली गर्ने गरिएको विषयमा प्रमुख प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेला सभामुख देवराज घिमिरेले ‘बलेको आगोमा घ्यू’ थप्ने काम गरेका छन् ।

माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीसहित विपक्षी दलका सांसदले गृहमन्त्री लेखकको राजीनामा मागेर संसद बैठक अवरुद्ध गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुन अनन्त र रास्वपा सांसद् शिशिर खनालले गहृमन्त्रीले पठाएका अध्यागमन प्रमुख र उनको सचिवालय संलग्न रहेको संगठित मानव तस्करी प्रकरणको छानबिन निष्पक्ष हुनका लागि पनि लेखकले राजीनामा दिनुपर्ने बताए ।
सभामुखले बसेर बैठक सञ्चालनका लागि सहयोग गर्न विपक्षीलाई आग्रह गरिरहेका बेला सत्तापक्षका केही सांसद् पनि आफ्नो स्थानबाट उठेर प्रतिपक्षको प्रतिवाद गरेका थिए ।

सोही क्रममा सभामुख घिमिरेले काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई ‘संक्षिप्तमा आफ्ना कुरा राख्न’ भन्दै बोल्न समय दिए । त्यसपछि थप आक्रोशित बनेका प्रतिपक्षका सांसदहरु नाराबाजीमा उत्रिए ।

प्रमुख सचेतक घिमिरे बोल्दै थिए । सभामुख घिमिरेले तत्काल उनलाई रोकिन आग्रह गरे । विपक्षीले रोष्ट्रम घेराउ गर्ने तयारी गरेपछि सभामुख घिमिरेले आधा घण्टाका लागि संसद् बैठक स्थगन गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us