
पूर्वी नवलपरासी, १३ जेठ– पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगल क्षेत्रमा मंगलबार बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाले ज्यान गुमाएका छन् ।
एक जना गम्भीर घाइते भएका छन्। चोरमारातर्फ जाँदै गरेको लु९प ८११६ नम्बरको मोटरसाइकल बिहान ६ बजेतिर अनियन्त्रित भई चिप्लिएर दुर्घटनामा परेको हो । मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए ।
घाइतेमध्ये मध्यविन्दु नगरपालिका–७ का २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनलाई उपचारका लागि अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका छन् ।
उक्त दुर्घटनामा बाँच्न सफल २८ वर्षीय मनिष घर्तीमगरको अवस्था गम्भीर छ । उनी बर्दघाट नगरपालिका–५ स्थायी घर भई हाल चोरमारा बसोबास गर्दै आएका टायल–मार्बल मिस्त्री हुन् ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भरतपुरको नयाँ मेडिकल कलेजमा रेफर गरिएको छ । उनको बायाँ खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
प्रहरीले दुर्घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ ।