प्रधानमन्त्रीले भनेका सबै कुराको जिम्मेवारी कांग्रेसले लिँदैनः कांग्रेस

काठमाण्डु टुडे २०८२ जेठ १२ गते १७:०९ मा प्रकाशित

काठमाण्डू, १२ जेठ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका सबै कुराहरूको जिम्मेवारी नलिने बताएको छ ।

आज (सोमबार) पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओली एमालेको समेत अध्यक्ष रहेको बताउँदै उनले भनेका सबै कुराहरूको जिम्मेवारी लिने कुरा नभएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री एमाले पार्टीको नेता पनि हुनुहुन्छ । सबै उहाँले भनेका कुराहरूको जिम्मेवारी हामीले लिने कुरा भएन । हामीलाई कब्जा सब्जामा ध्यान छैन । हामी समग्र संविधानको प्रतिरक्षाको पक्षमा छौँ । संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध गर्न पाइन्छ, आफ्ना कुराहरू राख्न पाइन्छ ।

तर, त्यो शान्तिपूर्ण तरिकाबाट राख्नुपर्दछ । संविधानको खिलाफ मै जान्छौँ भन्ने कुरा ठिक होइन भन्ने कुरामा हामी विश्वस्त छौँ ।’ उनले आफूहरू समग्र संविधानको प्रतिरक्षाको पक्षमा रहेको पनि बताएका छन ।

प्रवक्ता महतले संविधानले दिएको अधिकार प्रयोग गरेर विरोध तथा आफ्ना कुराहरू राख्न पाइने जिकिर गरे । उहाँले संविधानको विरुद्धमा जाने कुरा ठिक नभएको बताए । उनले राजावादीहरूले जेठ १५ मा गर्न लागेको आन्दोलनलक्षित गर्दै संविधानविरुद्धका गतिविधिहरू कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us