काठमाण्डू, १२ जेठ– काठमाण्डू महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रित भएको स्कुटरका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी घर भई चाबहिल बस्ने १८ वर्षीया मनिसा परियार रहेकी छन ।
उनी स्कुटर चालक रहेको प्रहरीले जानकारी दिएको छ । उनले चलाएको स्कुटरले गए राति एक पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यसपछि स्कुटर समेत अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका पैदलयात्री र स्कुटर चालक दुबैलाई उपचारका लागि बसुन्धारास्थित ग्रिनसिटी अस्पताल पठाइएको थियो । पैदलयात्रीको अहिले पनि उपचार जारी छ भने स्कुटर चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।