सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक बसेको छैन: काठमाण्डू महानगर

काठमाण्डु टुडे २०८१ चैत २० गते १७:०५ मा प्रकाशित

काठमाण्डू, २१ चैत– काठमाण्डू महानगरपालिकाले उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा कार्यपालिका बैठक नबसेको बताएको छ । काठमाण्डू महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाकी उपप्रमुख डंगोलको अध्यक्षमा बैठक नभई आगामी कार्यपालिका बैठकका अजेन्डाबारे अनौपचारिक छलफल भएको जानकारी दिएको छ ।

उनले भने, ‘उहाँ (उपप्रमुख सुनिता डंगोल) को अध्यक्षमा कार्यपालिका बैठक बसेको होइन। अब बस्ने बैठकमा के–के विषयमा कुराकानी गर्ने भन्नेबारे मोटामोटी अनौपचारिक रूपमा छलफल भएको मात्रै हो ।’

आज (बिहिबार) सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई पठायो। तर, प्रमुख बालेन शाह भने अधिकृत गुरागाईंलाई प्रवेश गर्न नदिने सुरमा थिए ।

तर, उनलाई उपप्रमुख डंगोलसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूले प्रवेश गराएका थिए। यसपछि अधिकृत गुरागाईंले हाजिर गरे । त्यस क्रममा उपप्रमुख डंगोलसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूका बीचमा अनौपचारिक छलफल भएको थियो। तर, त्यही बसाइलाई कार्यपालिका बैठक भनेर प्रचार गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us