
काठमाण्डू, २० चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि बुधबार अदालत लगिँदैछ ।
जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा रहेका ४१ जनालाई काठमाण्डू जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाण्डू स्रोतले जानकारी दिएको छ ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लैजान लागिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिल राज बोहराले जानकारी दिएका छन ।
म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् । मंगलबार मात्रै थप १८ जनालाई पक्राउ गरेर म्याद थप गरिएको थियो ।