सभामुखलाई रविले भनेः मेरो सांसद पद निलम्बन फुकुवा गरियोस्

काठमाण्डु टुडे २०८१ चैत १८ गते ११:३० मा प्रकाशित

काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् ।

आज मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् । यसअघि गत माघ १८ गते पनि सभामुखलाई भेटेर सभापति लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका थिए ।

मंगलबार पुनः सभामुखलाई भेटेर लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गरिदिन आग्रह गरेका हुन् । लामिछाने सांसद पदबाट गत पुस ८ गते निलम्बनमा परेका थिए । गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेका थिए ।

पछि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो ।

रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी समेत गर्दै आएको छ । संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us