भक्तपुरमा बसमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते

काठमाण्डु टुडे २०८१ फागुन १० गते १४:१६ मा प्रकाशित

काठमाण्डू, १० फागुन– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ नलिन्चोकमा बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर जगातीबाट साँगातर्फ जाँदै गरेको बा ३ ख ७४४० नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ४४ प ७३४२ नम्बरको मोटरसाइकल ठक्र दिएको छ ।

त्यसपछि जगातीबाट साँगातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा तीन जना घाइते भएका थिए । तीमध्ये बा ४४ प ७३४२ नम्बरको मोटरसाइकलमा सवार रामेछापको सुनापाती गाउँपालिका ४ घर भई हाल भक्तपुरको पाण्डुबजार बस्ने २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको भएको प्रहरीले जानकारी दिएका छन ।

इवामुरा अस्पतालमा उपचारको क्रममा गएराति करिब पौने नौ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उनको निधारमा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ काँक्राबारी बस्न २४ वर्षीय साजन तामाङ र बागमती प्रदेश ०२–०५५ प २५९९ नम्बरको मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ११ घर भई हाल काभ्रेको पनौती बस्ने ३९ वर्षीय टिकाराम श्रेष्ठ घाइते छन् ।

श्रेष्ठ राति नै अस्पतालबाट डिस्चार्ज भएका छन् भने तामाङको इवामुरा अस्पतालले थप उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा रिफर गरेको छ । उनको मुखमा भित्री चोट लागेको उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्दै भक्तपुर प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us