काठमाण्डू, १० फागुन– बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या गरीएको छ । बाजुराको बुढीगंगा नगरपालिका–८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या गरीएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
थापा बूढीगंगा नगरपालिका–९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका९७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिएका छन ।
खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा पक्राउ गरीएको उनले जानकारी दिएका छन । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो ।
थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।