एजेन्सी– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन यद्यपि लिबरल पार्टीबाट नयाँ नेता नचुनिएसम्म ट्रुडोले नै सरकार सञ्चालन गर्ने भएका छन ।
आज आयोजित पत्रकार सम्मेलनमा ट्रुडोले दलको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि सत्ता हस्तान्तरण गर्ने जानकारी दिएका छन । राजीनामाको घोषणा गर्दै उनले आफूलाई योद्धाको संज्ञा दिए ।
उनले भने, ‘प्रधानमन्त्रीको रूपमा हरेक दिन सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा हो । हामीले महामारीका बेला सेवा गर्यौँ। बलियो लोकतान्त्रका लागि काम गर्यौँ । तपाईंहरू सबैलाई थाहा छ म योद्धा हुँ ।’
उनले सन् २०१५ मा प्रधानमन्त्री बनेदेखि नै क्यानडाको हितका लागि र मध्यम वर्गीय जनतालाई माथि उकास्नका लागि काम गरेको बताए । तर, उनले किन राजीनामा दिए भन्नेमा चाहिँ चासो छ । क्यानडामा सन् २०२५ को अक्टोबर महिनामा चुनाव हुँदैछ ।