सिरियाका राष्ट्रपति असद चढेको प्लेन दुर्घटना भएको हो ?

काठमाण्डु टुडे २०८१ मंसिर २३ गते १४:२७ मा प्रकाशित

एजेन्सी– सिरियाका राष्ट्रपति बसर अल असदले विद्रोही समूहले राजधानी दमास्कस कब्जा गरेपछि देश छाडेका छन् । उनी कहाँ गए भन्ने स्पष्ट खुल्न सकेको छैन ।

उनी रुस वा इरानतर्फ प्रस्थान गरेको अनुमान गरीएको अन्तराष्ट्रिय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले असाद रुसको राजधानी मस्को प्रस्थान गरेको सोसल मिडिया ट्रुथमा लेखेका छन् ।

यद्यपि यो पुष्टि हुन भने बाँकी रहेको छ । कतिपय अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले भने देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद सवार प्लेन दुर्घटना भएको अनुमानसहितका समाचार पनि लेखेका छन् ।

तर यो पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । असद र उनको परिवारका सदस्य सवार आईएल–७६ विमान जमिनबाट ५०० मिटर माथि आकासमा दुर्घटना भएको हल्ला छ । त्यसअघि विमान राडारबाट सम्पर्कविच्छेद भएको बताइन्छ ।

कतिपयले विमानलाई विद्रोहीहरुले खसालेको दाबी समेत गरेका छन् । दुर्घटना भएको वा विद्रोहीले खसालेको भन्ने विवरण पुष्टि हुन भने बाँकी छ । सिरियाका विद्रोहीहरुले राजधानी दमास्कस कब्जा गर्नुभन्दा अगाडि दमास्कसबाट अन्तिम उडान भर्ने सिरियाई एयरको उडान नम्बर ९२१८ आईएल ७६ विमान थियो ।

ओपन सोर्स फ्लाइट ट्र्केर्सका अनुसार उड्नासाथ विद्रोहीहरुले कब्जा गरेको होम्स शहरमाथिको आकासबाट विमान सम्पर्कविच्छेद भएको थियो । विद्रोहीहरु देशका प्रमुख शहर कब्जा गर्दै राजधानी प्रवेश गरेपछि असदले राजधानी छाडेका थिए ।

विद्रोही समूह एचटीएसले सिरियामा असद परिवारको ५० वर्ष लामो शासन अन्त्य भएको र नयाँ दिन सुरु भएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us