काठमाण्डु, १९ मंसिर– आज बुधबार चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन ।
प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन । प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले जानकारी दिएका छन । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिएका छन ।
प्रहरी उपरीक्षक मिश्रले भने, ‘प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन् ।’ जिल्ला प्रहरी कार्यालय अगाडी सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिएका छन । प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिएका छन ।
घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए ।
रास्वपा सभापति लामिछानेको बयान सरकारी वकिलको कार्यालयमा जारी छ । यहाँको साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले उनलाई बयानका लागि मंगलबार काठमाण्डुबाट चितवन ल्याएको हो ।
साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।