काठमाण्डु, ४ मंसिर– प्रहरीले नक्कली फेसबुक आइडीको प्रयोग गरी २७ लाख बढी ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन ।
सूचना अधिकारी आचार्यका अनुसार निजले सोही आइडीको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाण्डु, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिएका छन ।
उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डु भद्रकाली पठाइएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।