काठमाण्डु, ४ मंसिर– गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक भएको बताएका छन ।
आज (मंगलबार) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै अनुशासित पनि बन्नुपर्ने पनि बताएका छन ।
गृहमन्त्री लेखकले भने, ‘सबै भन्दा पहिलो आवश्यकता शान्ती कायम गराउनु हो तर सुरक्षा सँगै अनुशासन पनि कायम गराउन जरुरी छ ।’
गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगइरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागूऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन समेत दिएका छन ।
उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिंदै भने– तपाईंहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियाशील र सक्रिय भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन ।
उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशको शान्ती सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताएका छन ।