प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाण्डु टुडे २०८१ मंसिर १ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, १ मंसिर–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री केपी ओलीले चाइना कार्ड प्रयोग गर्न चीन भ्रमणमा जान लागेको अभिव्यक्तिप्रति सरकार नेतृत्वकर्ता एमालेले आपत्ति जनाएको छ ।

एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार, नेपालको सार्वभौम प्रतिष्ठा र कूटनीतिलाई गहिरो असर पार्ने खालको रहेको बताएका छन् ।

प्रचण्डले केही दिनअघि भारतीय अखबार द हिन्दूलाई दिएको अन्तर्वार्तामा ओली नेपालको राजनीतिमा चिनियाँ कार्ड खोल्न उद्धत रहेको बताएका थिए ।

विज्ञप्तिमा उक्त आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य भएको उल्लेख छ ।

‘यी कथनहरू कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हुन् र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन् । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो । झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ को जुवा होइन ।’

एमालेले नेपालका भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको जनाउँदै दाहालको भनाइले नेपालले दुई छिमेकीसँग कायम राखेको सन्तुलनलाई कमजोर पार्ने दाबीं पनि गरेको छ ।

‘यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँग नेपालले कायम राखेको बलियो र समान साझेदारीलाई खलल पार्ने खतरा छ,’ विज्ञप्तिमा छ ।

प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा ५ दिने भ्रमणका लागि चीन  भ्रमणमा जाँदैछन् ।

तेस्रो कार्यकालका लागि गत असार अन्तिम साता प्रधानमन्त्री नियुक्त भएका ओली पहिला भारत भ्रमणमा जान इच्छुक थिए ।

तर, पटकपटक बोलाउन आग्रह गर्दा पनि भारतीय पक्षले निम्ता नदिएपछि उनले चिनियाँ अधिकारीलाई भ्रमणमा बोलाउन आग्रह गरेका थिए । ओलीकै आग्रहमा चीनले भ्रमणमा बोलाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us