काठमाण्डू, १ मंसिर- माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको वर्तमान केपी ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गरेका छन् ।
माओवादी काभ्रे-काठमाण्डू सम्पर्क समितिको भेलालाई शनिबार सम्बोधन गर्दै सापकोटाले अहिलेको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको बताए ।
‘दुइटा छिमेकीको बीचमा हाम्रो पार्टी नेतृत्वको सरकारले सन्तुलित सम्बन्ध कायम गरेको थियो । अहिले त्यो सन्तुलन बिग्रिएको छ । अहिलेको सरकारप्रति न उत्तर न त दक्षिण नै खुसी छ । सात समुन्द्र पारिका पनि धेरै खुसी छन् जस्तो लाग्दैन ’ सापकोटाले भने ।
सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको इमेज धेरै माथि पुगेको समेत जिकिर गरे ।
‘पार्टी अध्यक्षले अन्तर्राष्ट्रिय क्षेत्रमा भएका सबै संयुक्त राष्ट्रसंघको महासभालगायत फोरमहरुमा नेपालको राम्रो प्रतिनिधित्व गरिराख्नुभएको छ । अहिले अन्तर्राष्ट्रिय जगतलाई हिजो जनयुद्धकालमा नाममात्रै सुनिएको थियो । प्रचण्ड भन्ने मान्छे परिवर्तन र जनताप्रति समर्पित मान्छे हो भन्ने परेको छ अन्तर्राष्ट्रिय स्तरमा पनि’, सापकोटाले भने ।
फरक प्रसंगमा सापकोटाले जनताले सरकार भएको प्रत्याभूत गर्न नपाएको बताए ।
‘सरकारको विचार, विवेक, पहलकदमी शून्य छ, सरकार छ भन्ने छ, मन्त्रिपरिषद् छ, तर सरकारको अस्तित्व देखिएको छैन । काभ्रेमा विपद् पर्दा सरकार देखिन । कमरेड प्रचण्ड देखिनुभयो ’, सापकोटाले भने ।