भारतले भन्योः नेपालको बिजुली बंगलादेश निर्यात हुनुमा प्रचण्डको भूमिका छ

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते २१:०५ मा प्रकाशित

काठमाण्डू, ३० कात्तिक-भारत सरकारले नेपालको बिजुली बंगलादेश निर्यातको जस पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

भारतीय विदेश मन्त्रालयले  शुक्रबार एक विज्ञप्ति जारी गरी नेपालको बिजुली बंगलादेश पुग्नुमा वर्तमान प्रधानमन्त्री केपी ओलीलाई नदिई पूर्वप्रधानमन्त्री प्रचण्डलाई दिएको हो ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०२३ को ३१ मे देखि ३ जुनसम्म गरेको भारत भ्रमणका क्रममा भएको समझदारीअनुसार भारत हुँदै बंगलादेशमा बिजुली निर्यात गर्नेसम्बन्धी निर्णय भारत सरकारले गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालबाट बंगलादेशसम्म पहिलो त्रिदेशीय विद्युत् कारोबारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘३ अक्टुबर-२०२४ मा काठमाण्डूमा एनटीपीसी  विद्युत व्यापार निगम, नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर विकास बोर्डबीच त्रिपक्षीय विद्युत व्यापार सम्झौतामा हस्ताक्षर गरियो ।”

प्रचण्ड भ्रमणका क्रममा दुवै पक्षले सबै सरोकारवालाको पारस्परिक हितका लागि अर्थतन्त्रबीचको अन्तर्सम्बन्धलाई अभिवृद्धि गर्ने ऊर्जा क्षेत्रसहित थप उपक्षेत्रीय सहयोगप्रति प्रतिबद्धता व्यक्त गरेको पनि विज्ञप्तिमा छ ।

भारतले नेपालबाट भारत हुँदै बंगलादेश विद्युत निर्यात  सुरु भएसँगै विद्युत् क्षेत्रमा उपक्षेत्रीय कनेक्टिभिटी बढाउने दिशामा उल्लेख्य आशावादी हुन सकिने विश्वास व्यक्त गरेको छ ।

नेपालले शुक्रबारदेखि औपचारिक रुपमा बंगलादेशमा बिजुली निर्यात थालेको छ ।

ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट स्वीच दबाएर विद्युत निर्यातको औपचारिक शुभारम्भ गरेका थिए ।

नेपाल–भारत अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइन हुँदै विद्युत बंगलादेश पुग्नेछ ।

मुजफ्फरपुरबाट भारतको बहरामपुर–भेरमारा–बंगलादेश ४ सय केभी प्रसारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ ।

Screenshot

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us