दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ:राउत

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १८:५० मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् ।

उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न शुक्रबार कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटकपटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताए ।

अध्यक्ष राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकामा जोड दिए । सो पार्टीका तर्फबाट कनकाई नगरपालिका–६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ ।

झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो ।

निर्वाचन कार्यालय झापाका अनुसार कनकाई–६ मा दुई हजार ५८ मतदाता रहेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us