काठमाण्डु, २१ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका हुन् ।
पौडेलले ट्रम्पको दोश्रो कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त रहेको बताए ।
‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई,’ उनले लेखेका छन्, ‘अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालको सफलताको शुभकामना । तपाईंको कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त छु ।’
४५औं राष्ट्रपति रहिसकेका ट्रम्प बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपति निर्वाचन जित्न २ सय ७० इलेक्ट्रोल कलेज चाहिनेमा यो समाचार तयार पार्दासम्म रिपब्लिकन उम्मेदवार ट्रम्पले ट्रम्पले २ सय ७६ इलेक्ट्रोल कलेजमा जित हात पारिसकेका छन् ।
डेमोक्र्याटिक पार्टीकी उम्मेदवार एवं वर्तमान उपराष्ट्पति कमला ह्यारिसले २ सय १९ इलेक्ट्रोल कलेजमा चित्त बुझाएकी छन् ।