स्पेनसँग श्रम सम्झौताको तयारी

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते १७:५५ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक– नेपाल सरकारले युरोपेली देश स्पेनसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । नेपाल र स्पेनबीच श्रम सम्झौताका लागि छलफल सुरु भएको छ ।

स्पेनसँग हुने श्रम सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता उपसचिव कविराज उप्रेतीले जानकारी दिएका छन । उनले भने, ‘श्रम सम्झौताको मस्यौदा लगभग तयार छ, ‘छिट्टै दुई पक्षबीच छलफल भएर समझदारीमा हस्ताक्षर गर्ने वातावरण बनाउने प्रयासमा छौं ।’

विभिन्न माध्यमबाट स्पेन पुगेका नेपालीहरु नै रोजगारी नपाएर अलपत्र परिरहँदा सरकारले सोही देशसँग श्रम सम्झौता गर्ने तयारी गरेको हो ।

स्पेनमा नेपालीहरुका लागि कस्ता र कति रोजगारीका अवसरहरु छन् भन्नेबारे मन्त्रालयसँग तथ्यांक छैन । तर, युरोपेली गन्तव्य भएकाले जे–जति सम्भावना छ, त्यसलाई उपयोग गर्ने भन्दै नेपाले स्पेनसँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको हो ।

दक्षिण पश्चिमी युरोपेली देश स्पेन पोर्चुगलको पूर्वी तथा उत्तरी क्षेत्रमा पर्छ भने फ्रान्सको दक्षिणी क्षेत्रमा छ । स्पेन युरोपियन युनियन तथा सेन्जेन राष्ट्रमध्येको एक शक्तिशाली मुलुक हो ।

आप्रवासीसम्बन्धी खुकुलो नीतिका कारण दक्षिण अमेरिकी मुलुकहरु अर्जेटिना, ब्रजिल, चिली, पाराग्वे, दक्षिण एसियाली मुलुक भारत, पाकिस्तान, नेपाल र अफ्रिकी मुलुकहरुबाट पनि थुप्रै मानिसहरु स्पेन पुगेका तथ्याङक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us