काठमाण्डु, १३ कात्तिक– काठमाण्डुको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाण्डु प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गरेको छ ।
प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाण्डुमा झिकाइएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबारे अनुसन्धान भइरहेको काठमाण्डुका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन ।
उनले भने, ‘कालीमाटी वृतमा दर्ता भएको थियो, हामीले सो फाइल परिसरमा ल्याएर अनुसन्धान थालेका छौँ ।’ स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई हुन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिस जारी भएको छ ।
पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा जीबीलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ । २७ हजार बचतकर्ता रहेको स्वर्णलक्ष्मीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि दुईपटक ऋण लिएको तर फिर्ता नगरेको प्रमाण फेला परेको छ । जीबी र रविले संयुक्त नाममा ऋण लिएका हुन् ।
२०७८ भदौ ४ मा उनीहरुले ‘फोर ह्विलर लोन’ र २०७८ कार्तिक १ मा ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न भनेर ऋण निकासा गराएको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिएका छन ।
‘फोर ह्विलर लोन’ बापत ४६ लाख ९८ हजार लिएको तर, ३२ लाख २१ हजार फिर्ता नगरेको स्वर्णलक्ष्मीको रेकर्डमा फेला परेको छ । त्यस्तै, ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्न ४६ लाख ८८ हजार लिएर २९ लाख ५२ हजार नतिरेको अनुसन्धानबाट भेटिएको छ । स्वर्णलक्ष्मीबाट गैह्रकानुनी रुपमा रवि र जीबीसहितको नाममा प्रवाह भएको लोनको ३५ थान भौचर प्रहरीले बरामद गरेको छ ।
स्वर्णलक्ष्मीबारे अनुसन्धान गरेका प्रहरी वृत्त कालीमाटीका एकजना अधिकृत भन्छन्, ‘रवि लामिछानेको नाम समेत भएको ३५ थान भौचर बरामद गरेका छौँ ।’ स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।