काठमाण्डु, १३ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन ।
आज (मंगलबार) मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले कानुन विपरीत क्रियाकलाप हुन नदिने पनि बताएका छन । दीक्षितहरूलाई राष्ट्रको शान्ति सुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताएका छन ।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सङ्गठनको क्षमता विस्तारमा समेत जोड दिएका छन ।
त्यस अवसरमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए ।