भाइटीकाकै दिन वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– यस बर्षको तिहारको भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने मौसम विज्ञान पूर्वानुमान महाशाले जनाएको छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो ।

यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले जानकारी दिएका छन ।

उनले भने, ‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।’

उनका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ । सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ ।

यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ ।

यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो । यो वर्षा वर्षायाममा जस्तो लगातार पर्ने झरी जस्तो हुने छैन । त्यसैले यात्रामा प्रभाव नपर्ने पूर्वानुमान मौसमविदको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us