काठमाण्डु, १३ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताएको छ ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा आज बालुवाटरमा भएको प्रदर्शनका क्रममा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बताउँदै रास्वपाले भर्त्सना गरेको छ ।
रास्वपाका कार्यवहाक महान्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गर्दै शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको बताएका छन ।
उनले भनेका छन, ‘शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन् लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन हो ।’ आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने रास्वपाले बताएको छ ।
कार्यक्रमलाई उपसभापति डा।स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो ।
१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने भनिएको थियो । तर, प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम तालिका प्रभावित भएको छ ।