पूजा गरेको मासु खाँदा ३५ जना बिरामी

काठमाण्डु टुडे २०८१ कार्तिक १३ गते ९:३५ मा प्रकाशित

अर्घाखाँची, १३ कात्तिक– अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ जना पुगेको छ ।

सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए ।

प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए ।

मंगलबार बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् । अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताएका थिए ।

उनीहरू सबैको अवस्था सामान्य छ । आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए ।
‘फुड प्वाइजन’ का कारण बिरामी परेको डा तिवारीको जानकारी दिए । बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छभने एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए ।

दुई जना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us