काठमाण्डु, ९ कात्तिक– एमालेका महासचिव शङ्कर पोखरेलले एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई ‘कठपुतली’ जस्तै नचाउन सकिन्छ भन्ने उद्देश्यले चौतर्फी घेराबन्दी आक्रमणको प्रयास भईरहेको बताएका छन ।
आज (शुक्रबार) अखिल नेपाल महिला सङ्घ काठमाण्डु जिल्ला कमिटीले गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको पनि बताएका छन ।
महासचिव पोखरेलले भने, ‘एमालेलाई कमजोर पार्दा नेपालको राजनीतिलाई कठपुतली जस्तै नचाउन सकिन्छ भन्ने सच्चाई हामीले बुझ्नुपर्छ, हो विकास र समृद्धिका काम जनअपेक्षा अनुसार हुन नसकेकोमा पार्टीले मनन गरेको छ ।’
यस्तो घेराबन्दी र आक्रमणले पार्टी चुकेको र गलत दिशामा हिँडेको हो कि भन्ने माहौल सिर्जना गरिएको पनि उनले बताएका छन । उनले यस्तो प्रवृत्तिले नेपालको राजनीतिलाई कुन बाटोमा अघि बढाउने ? भन्ने प्रश्न उठेको भन्दै सही बाटोमा लैजाने कि पपुलिजमलाई ? साथ दिने दोसाँधमा रहेको बताएका छन ।
उनले युक्रेनको उदाहरण दिँदै त्यहाँ हास्य कलाकारलाई राष्ट्रपतिमा निर्वाचित गर्दा जनताले सास्ती खेप्नुपरेको बताएका छन । उनले भने, ‘युक्रेनमा राजनीति नबुझेको व्यक्ती राष्ट्रपति हुँदाको पीडा त्यहाँका जनताले भोगिरहेका छन्’ ।