नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १२:३४ मा प्रकाशित

दाङ, ९ कात्तिक– दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन । पक्राउ पर्ने राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर रहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र कार्यालय बाहिर दशैँमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले जानकारी दिएका छन ।

गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो ।

घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो । उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरेर ल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us