वर्तमान सरकार पूरा कार्यकाल जान्छ: सभापति देउवा

काठमाण्डु टुडे २०८१ कार्तिक ९ गते १२:२९ मा प्रकाशित

काठमाण्डु, ९ कात्तिक– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको सभापति देउवाले बताएका छन ।

उनले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए । सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको दाबी गरेका छन । विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको पनि बताएका छन ।

राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरू तैनाथ गरी व्यवस्थापन गरेको उनले बताएका छन । वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने उनले बताएका छन ।

उनले भने, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त रु गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो ।

हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us