ओली सरकारविरुद्ध रास्वपाले काठमाण्डुमा प्रदर्शन गर्ने

काठमाण्डु टुडे २०८१ कार्तिक ८ गते १८:०१ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारविरुद्ध भोली शुक्रबार देहको संघीय राजधानी काठमाण्डुमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

भोली दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन रास्वपाको तयारी रहेको छ । प्रदर्शन पार्टीको नेतृत्वमा भए पनि आम रूपमा सहभागी हुन अपिल गरेको रास्वपाका केन्द्रीय सदस्य पुकार बमले जानकारी दिए ।

आन्दोलनको तयारीका लागि अहिले जिल्ला, प्रदेश र केन्द्रमा उपलब्ध भएका केन्द्रीय नेताहरूको बैठक बसेको उनले जानकारी दिएका छन । बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भइरहेको उनले जानकारी दिएका छन ।

सहकारी ठगीको आरोपमा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत शुक्रबार काठमाण्डुबाट पक्राउ गरी पोखरा लगेको थियो । लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us