काठमाण्डु, ८ कात्तिक– सुर्खेतमा एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाही रहेको सुर्खेत प्रहरीले जनाएको छ ।
जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका शाहीलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्याइएको र अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिएका छन ।
यस्तै गाडी दुर्घटनामा ६ जना घाइते भएका उनले बताए । अन्य घाइते हरुको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । २९ जना यात्रु सवार उक्त गाडी अनियन्त्रित भएर सडक छेउमा दुर्घटना भएको विश्वकर्माले जानकारी दिएका छन ।