काठमाण्डु, ८ कात्तिक– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार असफल भएको र अहिल्यै नै ओली सरकारको विकल्प नखोजिएको बताएका छन ।
यतिबेला सरकारको विकल्प खोज्ने भन्दा पनि पार्टीको सम्पूर्ण ध्यान १० गते हुने खबरदारी सभाको तयारीमा रहेको उनले बताएका छन । तर ओली सरकार पूर्ण रूपमा असफल भएको उनको निष्कर्ष रहेको छ ।
उपाध्यक्ष सापकोटाले भने, ‘जनता विपद्को भुमरीमा छन् । सरकारको उपस्थिति शून्य छ । हरेक हिसाबले सरकार पूर्णत असफल भएको छ । सरकार परिवर्तनको विषयमा अहिले छलफल चलिसकेको छैन ।
सम्पूर्ण रूपमा पार्टीको ध्यान १० गते हुने खबरदारी सभामा रहेको छ । जनतामा गएर खबरदारी गर्दै जान्छौँ । सरकारका गलत कामबारे जनतालाई जानकारी दिउँ । अरू कुरा बिस्तारै हुँदै जान्छ ।’
सत्ताबाट बाहिरिएपछि जन परिचालनसहितका कार्यक्रम ल्याउने तयारी गरेको माओवादीले बिहीबार सरकारको सय दिनको कामको समीक्षा गरी आफ्नो धारणा सार्वजनिक गर्दैछ ।