पोखरामा प्रदर्शन गर्ने प्रत्येक व्यक्ति कसुरदार हुन्: एमाले

काठमाण्डु टुडे २०८१ कार्तिक ८ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– सत्ता घटक दल एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका संस्था र व्यक्तिहरूका तर्फबाट भइरहेको आवान्छित गतिविधिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । एमालेले आज बिहिबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

एमालेले राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर भएको उल्लेख गरेको छ । यस्ता भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भएतर्फ सवै पक्ष सचेत हुनुपर्ने बताएको छ ।

एमालेद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘सरकार र त्यसको नेतृत्वलाई जोडेर चर्चा गर्नु, अनुसन्धान र अभियोजन प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य न्यायिक दृष्टिकोणबाट अनुपयुक्त हो । संविधानले प्रत्येक नागरिकलाई संविधान र कानुनको पालना गर्नुपर्ने भनी नागरिकका कर्तव्य पहिचान गरेको छ र सबैले कानुनको पालना गर्नु र गराउनु पर्दछ ।

मुलुकी अपराध संहिताले सार्वजनिक पद धारण गरेको व्यक्तिले कर्तव्य पालना गर्ने क्रममा कसैले बाधा पुर्‍याउने वा निजलाई कुनै गैरकानुनी काम गर्न लगाउने नियतले कुनै काम गरेमा त्यस्तो कार्यलाई दण्डनीय मानेको छ ।

राष्ट्र सेवकलाई कानुनबमोजिम तोकिएको काम गर्न नदिन वा कर्तव्य पालना गर्न नदिने हिसाबले पाँच जना भन्दा बढीको भेला गर्नु गराउनु आफैँमा कसुर हो ।

यस्तो कसुरमा सङ्घीय संसद्को सदस्य उपस्थिति हुन र यस्तो कसुर गर्न अरूलाई उक्साउनु पूर्णत गैरकानुनी कार्य हो । यस्तो भेलामा सहभागी नहुन प्रहरीले गरेको अनुरोधको अवज्ञा गर्ने प्रत्येक व्यक्ति कसुरदार मानिने कानुनी व्यवस्था भए तर्फ सवै पक्ष सचेत हुनुपर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us