विपक्षी दलले राष्ट्रपतिलाई भनेः दल फुटाउन अध्यादेश आए रोक्नुस्

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते २१:२१ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक- विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटी सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याय रोक्न माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा बुधबार सांझ शीतल निवास पुगेका विपक्षी दलका नेताहरुले राष्ट्रपति पौडेललाई उक्त आग्रह गरेका हुन् ।

राष्ट्रपति पौडेलले अध्यादेश आए परामर्श गर्ने जवाफ दिएको भेटमा सहभागी माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।

विपक्षी दलका नेताहरुले सरकारले कुनै पनि बेला अध्यादेश ल्याउन सक्ने बताएका थिए । संसदका दुई प्रमुख दल कांग्रेस र एमालेले मुलुकलाई दुई पार्टी प्रणालीमा लैजान लागेको भन्दै उनीहरुले यो लोकतन्त्रका लागि घातक हुने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए ।

प्रचण्डले २ कात्तिकमा बोलाएको विपक्षी दलहरुको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी भए  सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर दबाब दिने निर्णय गरेका थिए । भेटमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी र आम जनता पार्टीका नेता थिए ।

उनीहरुले यसअघि सोमबार प्रधानमन्त्री केपी ओलीलाई भेटेर सोही विषयमा दबाब दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us