काठमाण्डु, ७ कात्तिक– सत्ताको प्रमुख घटक कांग्रेसले सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित तथा त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि गरिरहेको दाबी गरेको छ ।
लामिछानेका समर्थकको क्रियाकलापप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ , ‘राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरूपणको कार्यलाई वाधा पुर्याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल पुर्याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ ।’
कानुन सबैका लागि समान हुने र हुनु पनि पर्ने कांग्रेसले बताएको छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भइरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको कांग्रेसको निष्कर्ष छ ।