इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना नदेखे हुन्छः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते १६:०१ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र एमाले जस्ता इतिहास र हैसियत भएका दलहरु मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले देखेको छ भने त्यो गलत हुने दाबी गरेका छन ।

आज (बुधबार) सरकारको सय दिनको उलपब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी समेत गरेका छन ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ । अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नु पर्छ ।

कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्, त्यसरी सुनाइएका कुराहरुलाई मैले खण्डन गर्ने गरेको छु– कर्मचारीले नै काम गर्ने हो । ब्युरोक्रेसीको नेतृत्व गरेका मुख्य सचिव र सचिवहरु यहीँ हुनुहुन्छ ।

उहाँहरु पनि मेरो भनाइसँग पक्कै सहमत हुनुहुन्छ– राजनीतिक नेतृत्वले नीति र प्राथमिकता अघि सार्छ, कर्मचारी प्रशासनले त्यसलाई कार्यान्वयन गर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us